शुभयात्रा

तालिम पछि धेरै महिला जागरूक भएका छन् - निरूपा रस्तोगी

2021-4-19 0 share 0 likes,

नेपालगन्जकी निरूपा रस्तोगीको औषधि थोक सम्बन्धी व्यवसाय छ। उनीले व्यवसाय गर्न थालेको पनि झन्डै ३० वर्ष जति हुन लागिसक्यो। यसको साथै समय समयमा घरेलु उद्यम जस्तै आचार बनाउने, खाजा नास्ता बनाउने, आदि तालिम पनि महिलाहरूलाई दिने गरेकी छिन्। उनी आफै पनि आचार, विभिन्न प्रकारको नास्ताहरू बनाउने गर्छिन्। उनको यो व्यवसाय दर्ता छैन। उनले यो उद्यम बेचेर पैसा कमाउनेमा भन्दा पनि अरूलाई तालिम दिएर महिला उद्यमशीलता विकास गर्ने काममा बढी केन्द्रित छिन्। 

भन्छिन्, “म थुप्रै वर्षदेखि घरेलु उद्यम सम्बन्धी व्यवसायको ट्रेनरको रूपमा काम गरिरहेकी छु। ट्रेनरको रूपमा सक्रिय भएको १०-१२ वर्ष भइसक्यो। महिला उद्यमी महासङ्घमा आबद्ध भए देखि नै म यो काम गर्न थालेकी हुँ। अहिले गरिब महिलालाई बोलाएर नि:शुल्क तालिमहरू दिने गरेकी छु। ट्रेनिङ पुरा भएपछि उनीहरूको व्यवसाय सुरु गर्न मदत पनि गर्ने गरेको छु।”

उनी बाँकेको महिला उद्यमी महासङ्घमा आबद्ध भएको झन्डै १६ वर्ष हुन लागिसक्यो। उनी यो संस्थाको सुरुवाती चरणदेखि नै जोडिएकी हुन्। अहिले उनी महिला उद्यमी महासङ्घ, बाँकेको उपाध्यक्षको रूपमा कार्यरत छिन्। उनले ट्रेनिङ दिएर सामान उत्पादन सुरु गरिसकेको महिलालाई पनि सहयता गर्ने गरेकी छिन्।

भन्छिन्, “तालिम लिएर व्यवसाय गरेका महिलालाई बजारीकरण गर्न पनि मदत गर्ने गरेको छु। सबैलाई बजारमा ल्याएर बेच्न गाह्रो हुन सक्छ भनेर हामीले संस्थामा नै उत्पादनहरू कलेक्सन गर्ने गरेका छौँ। यी उत्पादन बेच्न हामी मदत गर्छौँ। यसको लागि हाम्रो संस्था मार्फत बेला बेलामा मेलाहरू आयोजना गर्ने गरेका छौँ।”

उनले अहिलेसम्म १५-२० जना महिलालाई ट्रेनिङ दिएर उद्यमी बनाउन मदत गरेकी छिन्। उनी आफू पहिला ट्रेनिङ लिएर पोख्त भएपछि सिकाउने र उद्यमी बनाउने तर्फ लागेकी हुन्। उनीले पनि महासङ्घबाट स्यानिटरी प्याड, फ्लावर बनाउने, आचार बनाउने, नास्ता बनाउने, आदि तालिम लिएकी छिन्। अहिले संस्थागत साथै व्यक्तिगत रूपमा तालिम दिन्छिन्।

महिलालाई ट्रेनिङ दिने र महिला उद्यमी महासङ्घमा आबद्ध हुनु अघि उनीले घर परिवार सम्हाल्ने र औषधि पसलमा बस्ने काम गर्थिन्। उनको समुदायमा नै महिला घरबाट निस्किन नै गाह्रो हुन्छ। महिलाले काम गर्ने र तालिम दिने धेरै टाढाको कुरा हो। उनीले नै बिस्तारै घरबाट निक्लिन मिल्ने वातावरण बनाएकी हुन्। अहिले उनका बुहारीहरू पनि निस्किन्छन्। तालिम पछि धेरै महिलामा जागरूकता आएको उनले पाएकी छिन्।

उनलाई सकेसम्म महिलालाई केही उद्यमशीलता वा जीविकोपार्जन सम्बन्धी तालिम दिएर आफ्नै खुट्टामा उभिन सक्ने बनाउने ठुलो चाहना छ। यसमा उनी थुप्रै वर्षदेखि लागी पर्दै पनि आइरहेकी छिन्। अझै संस्थासँग मिलेर टिम बनाएर गाउँ-गाउँमा पुगेर महिलालाई सहयोग गर्ने गर्ने सोच बनाएकी छिन्।

आशा छ उनको यो सोच पूरा हुनेछ।

वैदेशिक रोजगारी,वित्तीय साक्षरता,उद्यमशीलता,महिला सुरक्षा लगायत सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप आजै यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8।​शुभयात्राको फेसबुक पेजमा भएका सुचना/सन्देश हेर्न र पढ्नको लागि https://www.facebook.com/ShuvaGO/​ मा जानुहोस्। त्यसैगरी यस पेजमा राखिएका ज्ञानवर्धक र सूचनामूलक सामाग्रीहरु हेरेर/पढेर प्रतिक्रिया दिनुहोला।

  • केही गर्ने इच्छा भए आफै लागी पर्नु पर्छ - सबिता महर्जन
  • पाल्पाली ढाका गुणस्तर र पहिचानले गर्दा यसको व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ - प्रमिला कार्की